विराटनगर महानगरपालिका–११ स्थित जनपथटोलको भित्री सडकखण्डमा आज (मंगलबार) बिहान दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।
बिहान करिब ७ः३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको गढी गाउँपालिका–२ बस्ने २३ वर्षीय शेखर यादवको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा थप उपचारका लागि नोबेल अस्पताल पठाइएको थियो। नोबेल अस्पतालमा चेकजाँचका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
त्यस्तै, प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल चालक विराटनगर महानगरपालिका–११ बस्ने ३९ वर्षीय सुदन भट्टराई सामान्य घाइते भएका छन्। उनको दाहिने हातको औँला र खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि मोरङ सहकारी अस्पताल विराटनगर पठाइएको छ।
घटनालगत्तै प्रहरी चौकी बखरीबाट प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुवै मोटरसाइकल नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय विराटनगरमा राखेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















