उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएका छन्।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उपराष्ट्रपति यादवले सो आन्दोलनले शिक्षण सिकाइलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रूपान्तरण गर्न प्रेरित गरेको दाबी समेत गरे।
लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि सो आन्दोलनले प्रदान गरेको उल्लेख उनले गरे।
‘गत भदौमा जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको अवस्था छ। यसले शिक्षण सिकाइलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रूपान्तरण गर्न प्रेरित गरेको छ। लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि यसले प्रदान गरेको छ। त्यसैले थप परिमार्जित, रूपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन जरुरी छ। निजी शिक्षालयहरूले शैक्षिक गुणस्तरमा थप योगदान पुर्याउने विश्वास मैले लिएको छु,’ उनले भने।
मुलुकमा परिमार्जित, रूपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले त्यसमा निजी क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने समेत स्पष्ट पारेका छन्।
सरकार नीतिसँग मेल खाने गरी शैक्षिक गतिविधिलाई अघि बढाउन पनि निजी क्षेत्रका शिक्षालयहरूको ध्यानाकर्षण गराए।
‘यसका लागि सरकार नीतिसँग मेल खाने, स्थानीय संस्कृति र मूल्यलाई सम्मान गर्ने पाठ्यक्रम विकासमा यस संस्थाले सहकार्य गर्दै अघि बढ्नुपर्दछ। शिक्षकलाई निरन्तर तालिम, अनुसन्धान र नवप्रवर्द्धनमा प्रोत्साहन गर्दै राष्ट्र अनुकूल ज्ञान उत्पादनमा योगदान दिनु पर्दछ। समावेशी शिक्षा, समुदायसँग सहकार्य र राष्ट्र निर्माणमा सक्रिय सहभागिता अपेक्षित छ,’ उनले भने।




















