बुवाआमाको मायाघर (आश्रम) तथा शनि मन्दिर निर्माणजस्ता महान् उद्देश्यका साथ बेलबारी नगरपालिका–१, लोहन्द्र पुलको उत्तरपट्टि मिति २०८२ मङ्सिर १८ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको संगीतमय श्रीमद्भागवत ज्ञान महायज्ञको सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गरिएको छ।

हिजो सोमबार महायज्ञ आयोजना भएकै स्थानमा आयोजित कार्यक्रममा सम्पूर्ण आयोजक समिति, स्थानीय सरकारतर्फबाट वडा कार्यालयका प्रतिनिधि, सम्बन्धित टोल विकास संस्थाका अध्यक्ष, स्थानीयवासीहरू तथा जग्गादाता विशाल थापाज्यू र उहाँको परिवारको उपस्थितिमा आय–व्यय विवरण पारदर्शी रूपमा सार्वजनिक गरिएको हो।

सार्वजनिक विवरण अनुसार आम्दानीतर्फ सहयोग रसिदबाट ७ लाख ५३ हजार ७ सय ९१ रुपैयाँ, कलश वितरणबाट ४९ हजार ९ सय ५० रुपैयाँ तथा दानपेटिका र मण्डपदानबाट १३ हजार ५ सय रुपैयाँ संकलन भई जम्मा ८ लाख १७ हजार २ सय ४१ रुपैयाँ आम्दानी भएको छ।

त्यसैगरी, महायज्ञ सञ्चालनका क्रममा ६ लाख ७ सय ६५ रुपैयाँ खर्च भएको जनाइएको छ। हालसम्म उठ्न बाँकी रकम ९२ हजार ६ सय ६० रुपैयाँ रहेको छ भने कोषमा मौज्दात रकम २ लाख १६ हजार ४ सय ७६ रुपैयाँ रहेको विवरण सार्वजनिक गरिएको छ।

आय–व्यय सार्वजनिक कार्यक्रम पश्चात् थापा परिवारबाट प्राप्त जग्गालाई वडा प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको रोहबरमा नगरपालिकाका इन्जिनियरमार्फत जग्गा छुट्याई सिमाना कायम गर्ने कार्य समेत सम्पन्न गरिएको आयोजक समितिले जनाएको छ।