विराटनगर। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईलाई स्वागत गर्न आफ्नै पार्टीका स्थानीय नेता र कार्यकर्ता नआएपछि विराटनगर विमानस्थलमा रोचक दृश्य देखिएको छ। ताप्लेजुङ जाने क्रममा शुक्रबार विराटनगर ओर्लिएका उपमहासचिव भट्टराईलाई स्वागत गर्न एमालेको ुगढु मानिने विराटनगरमा एकजना पनि स्थानीय नेता विमानस्थल पुगेनन्।

केन्द्रका पदाधिकारी र प्रभावशाली नेताहरू आउँदा विमानस्थलमा कार्यकर्ताको भीड लाग्ने र भव्य स्वागत हुने एमालेको पुरानो परम्परा यसपटक भने भट्टराईको हकमा देखिएन। केही समयअघि एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर आउँदा परशुराम बस्नेत र सचिव शेरधन राईलाई सोही विमानस्थलमा कार्यकर्ताले भव्य स्वागत गरेका थिए। तर, पार्टीका उपमहासचिव जस्तो जिम्मेवार पदमा रहेका भट्टराईलाई भने यसपटक एमाले वृत्तबाटै उपेक्षा गरिएको चर्चा सुरु भएको छ।

एमालेका कार्यकर्ता विमानस्थलमा नदेखिएपछि नेकपाका नेता वासिम आलम लगायतको टोलीले भट्टराईलाई खादा लगाएर स्वागत गरेका थिए। भट्टराई र नेकपाका नेता भीम रावल एउटै विमानबाट विराटनगर ओर्लिएका थिए। आफ्ना नेता रावललाई लिन आएका नेकपाका कार्यकर्ताहरूले एमाले नेता भट्टराई पनि सँगै देखेपछि शिष्टाचार स्वरूप उनलाई पनि खादा लगाइदिएका थिए। पार्टीभित्रको आन्तरिक गुटगत प्रभावका कारण भट्टराईलाई स्थानीय तहमा बेवास्ता गरिएको हुनसक्ने अनुमान गरिएको छ।

यस विषयमा नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले भने आफूलाई सूचना नै नभएको दाबी गरे। उनले भने, ‘म विराटनगर बाहिर थिएँ, उहाँ आउँदै हुनुहुन्छ भन्ने कुनै आधिकारिक सूचना प्राप्त भएन, त्यसैले समन्वय हुन सकेन।’

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन बहालवाला मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्ने माग गरे। 

‘माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने कार्यतालिका छ, निर्वाचनलाई प्रभाव पार्न नदिन त्यसअघि नै मन्त्रीहरूले राजीनामा दिनु अनिवार्य छ,’भट्टराईले भने। उनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको अडान स्मरण गर्दै सत्ता र शक्तिको दुरुपयोग हुन सक्ने आशंका व्यक्त गरे। साथै फागुन २१ मा तराईमा होली र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले निर्वाचनलाई विभिन्न चरणमा लैजान समेत सरकारलाई सुझाव दिए।

पार्टीको आन्तरिक राजनीतिका बारेमा बोल्दै उपमहासचिव भट्टराईले नेकपा एमाले अब महाधिवेशनको म्यान्डेट अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्ने दाबी गरे। महाधिवेशनको प्रतिस्पर्धालाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया मान्दै उनले पराजित पक्षलाई कारबाही गरिने भन्ने कुरामा कुनै सत्यता नरहेको प्रस्ट पारे।