पशु क्वारेन्टाइन कार्यालय विराटनगरको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत दोस्रो त्रैमासिक कार्यक्रम अन्तर्गत क्वारेन्टाइन समन्वय बैठक आइतबार सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बैठक प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पशु क्वारेन्टाइनलाई केवल प्राविधिक विषय मात्र नभई सार्वजनिक स्वास्थ्य र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्नुभयो।
“पशु तथा पशुपन्छीमार्फत फैलिन सक्ने रोगले मानव स्वास्थ्य, कृषि र अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छ, त्यसैले क्वारेन्टाइन प्रणालीलाई प्रभावकारी बनाउन सबै निकायबीच समन्वय अत्यावश्यक छ,” उहाँले भन्नुभयो। बैठकमा जिल्लामा पशु तथा पशुपन्छीको आवतजावतको निगरानी, संक्रामक रोग नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको पशु क्वारेन्टाईन कार्यालय विराटनगरका डा.विदुर गौतमले जानकारी दिनुभयो।
सीमावर्ती क्षेत्र हुँदै हुने अवैध पशु प्रवेश रोकथाम, विभिन्न सरोकारवाला निकायबीच समन्वय मजबुत बनाउने तथा नियमित अनुगमनलाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा जोड दिइएको छ।
क्वारेन्टाइन व्यवस्थापन प्रभावकारी भएन भने रोग नियन्त्रण कठिन हुने त्यसैले स्थानीय प्रशासन, सुरक्षा निकाय र पालिकासँगको सहकार्यलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो। बैठकमा जिल्ला प्रशासन, सुरक्षा निकाय, सम्बन्धित सरकारी कार्यालय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले अवैध पशु ओसारपसार नियन्त्रण, सूचनाको आदानप्रदान तथा संयुक्त अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।




















