कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भए पनि उनीहरूले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१र८२’ अनुसार कोशी प्रदेशका ८० प्रतिशत स्टार्टअप उद्यमले नाफा कमाइरहेको देखिएको हो।
स्टार्टअप उद्यमहरूको व्यावसायिक प्रकृति, क्षेत्रगत प्रवृत्ति, स्टार्टअप उद्यमका लागि आवश्यक स्रोतसाधनको पहुँच अवस्था तथा यस्ता व्यवसायले भोग्नुपरेका समस्याको पहिचान गरी समस्या समाधानका उपायसहित राष्ट्र बैंकले प्रतिवेदन तयार पारेको हो।
जसका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’मा परेका कोशी प्रदेशका उद्यमहरूको सङ्ख्यालाई आधार मानी यस अध्ययनका लागि १६० वटा स्टार्टअप उद्यमबाट तथ्यांक संकलन गरिएको राष्ट्र बैंकले जनाएको छ।




















