नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महामन्त्रीहरूका विरुद्ध पार्टीमा घेराबन्दी भएको बताएका हुन्।

उनले नेपाली कांग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोप लगाए। उनले संख्याको दम्भले नेताहरूले आफूहरूमाथि प्रहार गरिरहेको र सबै मिल्ने काम भएको गुनासो गरे।

उनले पार्टी कार्यालयको घेराबन्दी सानो भएको र आम कार्यकर्ताको घेराबन्दी ठूलो भएकाले आम नागरिकले त्यसको छिनोफानो गर्ने जिकिर गरे।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीभित्र पछिल्लो समयमा प्रक्रिया र विधान निल्दै जाने क्रममा म र अर्का महामन्त्री (विश्वप्रकाश शर्मा) दुई जनालाई पार्टीको महामन्त्रीको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहँदै गर्दा यसलाई कर्नर गर्ने, घेराबन्दी गर्ने, यसका विरुद्ध सबै मिल्ने काम भएको छ। मैले नेताहरूलाई भनेको छु, यहाँभित्र सबै मिलेर मलाई र विश्वप्रकाश शर्मालाई जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ तर पार्टीको घेरा ठूलो छ, समर्थक, शुभेच्छुकको घेरा ठूलो छ। तपाईंहरू हामीलाई पार्टीको या साँघुरो घेराबाट झन ठूलो घेरामा जान झन् झन् बाध्य पार्दै हुनुहुन्छ।’

महामन्त्री थापाले संख्याको आधारमा दम्भ राखेर महामन्त्रीहरूलाई घेराबन्दी गरिएको बताए।