नेपाल सरकारले अमेरिका-भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।
नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो।
अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका सहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासत राखेपछि दुई देशबीच तनाव बढेको छ । विभिन्न मुलुकहरूले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन्।
नेपालको परराष्ट्र मन्त्रालयले पनि बुधबार विज्ञप्ति जारी गरेर यस घटनाप्रति आधिकारिक धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ।
नेपालले सबै किसिमका विवाद संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने जनाएको छ।




















