मोरङ । बेलबारी स्रष्टा विष्णु भण्डारी आचार्यको (लघुकथासङ्ग्रह) ‘बकसपत्र’ र विराटनगरका स्रष्टा रोहिणी रसिकको (कवितासङ्ग्रह) ‘छन्द आराधना’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ। कोसी साहित्य–कला परिषद् नेपालको आयोजना र छन्द वाटिका नेपाल, विराटनगरको सहआयोजनामा ती दुई कृतिको विमर्श गरिएको हो।
खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथिले संस्थाले रु. १ बाट सुरु गरेर १ करोड पुर्याउने उद्देश्यसहित सुरु गरेको अक्षयकोष निर्माणको अभियानअन्तर्गत दान पेटिकामा रकम हालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा भण्डारीको कृतिमाथि निरज कोइराला र केशु विरही, रसिकको कृतिमाथि डा. दीपकप्रसाद न्यौपाने र बाबुराम पोखरेलले समीक्षा प्रस्तुत गरेका थिए। विमर्शक विरहीले जीवनी, व्यक्तित्व र कृतित्वबिचको अन्तरसम्बन्धका बारेमा समीक्षा प्रस्तुत गर्दै कथाकार भण्डारी साहित्यका अतिरिक्त समाजसेवामा पनि उत्तिकै सक्रिय रहेको बताए।
्विमर्शक कोइरालाले लघुकथाको सिद्धान्तका बारेमा उल्लेख गर्दै ‘बकसपत्र’ भित्रका रचनाको चिरफार गरेका थिए। केही कथामा परिवेश दोष रहे पनि सबै कथाहरू निकै उत्कृष्ट रहेको बताए।
विमर्शक बाबुराम पोखरेलले जीवनी, व्यक्तित्व र कृतित्वमाथि बोल्दै रसिकको रगतले साहित्यको विरासत बोकेको बताए। विमर्शक डा. दीपकप्रसाद न्यौपानेले रसिकको कविता कृति ‘छन्द आराधना’ को विहङ्गम समीक्षा प्रस्तुत गरेका थिए। महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागका प्रमुखसमेत रहेका विमर्शक न्यौपानेले छन्द साधना गर्दा वा छन्द मिलाउने नाममा नेपाली भाषाको मानक व्याकरणलाई तोड्न नहुने विचार व्यक्ति गरे।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ पोखरेलले कोसी साहित्य–कला परिषद् नेपालले सुरु गरेको अभियानसँग आफू जानकार रहेको बताउँदै यस अभियानमा सबैको साथ र सहयोग रहने बताए। दुवै स्रष्टालाई बधाइ तथा शुभकामना दिँदै यस्ता कार्यक्रमले लेखकलाई खारिन सहयोग पुग्ने विचार व्यक्त गरे।
सभाध्यक्षको तर्फबाट मन्तव्य व्यक्त गर्दै हरि कट्टेलले विभिन्न स्थानमा पुगेर साहित्यिक कार्यक्रम गर्ने अभियान आफैँमा सुन्दर रहेको बताए। कार्यक्रममा सहकार्य गर्न पाएकामा खुसीसमेत व्यक्त गरे। लेखक द्वय भण्डारी र रसिकले पनि आआफ्ना धारणा राख्तै विमर्श कार्यक्रम राखेर आफूहरूका कृतिको सुगन्ध फैलाउन सहयोग गरेकामा आयोजक संस्था तथा समीक्षकहरूप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रममा मोरङ, सुनसरी तथा झापाका विभिन्न स्थानका स्रष्टा/कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा श्रीप्रसाद पोखरेल, मञ्जुश्री गिरी, शारदा भट्टराई, निर्मला नेपालले विमर्श गरिएका कृतिभित्रका दुई दुईओटा रचना वाचन गरेका थिए।
साहित्य विभागका सहसंयोजक शारदा दाहाल भण्डारीले कार्यक्रममा सहभागी सबैलाई संस्थाको तर्फबाट शब्दले स्वागत गरेकी थिइन्। सहआयोजक संस्था छन्द वाटिका नेपाल, विराटनगरका अध्यक्ष, हरि कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ र कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको रहेको थियो।



















