बेलबारी । पुसको कठ्याङ्ग्रिदो जाडो छ, तर मोरङको बेलबारीको माहोल भने यतिबेला प्रेमिल र तातो बन्दै गएको छ । गत पुस २५ गतेदेखि सुरु भएको ‘तेस्रो बेलबारी महोत्सवले बेलबारीलाई साङ्गीतिक र व्यापारिक उत्सवको रङ्गमा रङ्गाएको छ ।
महोत्सवको छैटौँ दिन आज बुधबार बेलबारीको मञ्चमा युवापुस्ताका ढुकढुकी, अत्यन्तै लोकप्रिय गायक डिके सागर उत्रने भएका छन् । आफ्ना सुमधुर र रोमान्टिक गीतहरूका कारण युवा मनहरूमा राज गर्न सफल डिके सागरले आजको चिसो साँझलाई साङ्गीतिक न्यानोपन दिने पक्का छ । जब उनले मञ्चबाट आफ्ना प्रेमिल धुनहरू सुसेल्नेछन्, तब पुसको ठिहीमा पनि दर्शकहरूले एउटा बेग्लै ऊर्जा र राप महसुस गर्ने आयोजकको विश्वास छ ।
बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा जारी यस महोत्सवमा साङ्गीतिक माहोल मात्र होइन, स्थानीय कृषि, व्यापार र पर्यटनको प्रवर्द्धन गर्ने व्यापारिक स्टलहरूले पनि उत्तिकै रौनक थपेका छन् । जाडोलाई भुल्दै दर्शकहरू दैनिक रूपमा सञ्चालन भइरहेको हाउजी खेलमा रमाउनेदेखि स्थानीय उत्पादनहरूको अवलोकनमा व्यस्त देखिन्छन् ।
महोत्सव अवधिभर दर्शकको अभूतपूर्व सहभागिता रहँदै आएको छ । यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेलेको महोत्सका कलाकार संयोजक रुपेश श्रेष्ठले बताए ।
उनले भने, ‘हामीले बेलबारीको पहिचान र व्यापारलाई जोड्न यो महोत्सव गरेका हौँ । आजको साङ्गीतिक साँझ झन् विशेष र उल्लासमय हुनेछ ।’
आजको मुख्य साङ्गीतिक कार्यक्रम बेलुकी ७ बजेदेखि सुरु हुनेछ । आफ्ना प्रिय गायकको रोमान्टिक गीतमा झुम्न र उत्सवको भरपूर आनन्द लिन आयोजकले सम्पूर्ण संगीतप्रेमीहरूलाई समयमै महोत्सव स्थलमा उपस्थित हुन हार्दिक अनुरोध गरेको छ ।
माघ ५ गतेसम्म चल्ने यो महोत्सवमा साङ्गीतिक प्रतिभाको बेजोड मिलनले बेलबारीको जाडोलाई बिर्साउँदै एउटा सुनौलो र रोमान्टिक सम्झना थप्ने निश्चित छ।




















