नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर-५ मा चुनावी अभियानलाई तीव्र पार्दै जनताको घरदैलोमा पुगेका छन्। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा ओलीले दमक लगायतका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरे।
घरदैलो कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताहरूको ठूलो उपस्थिति रहेको थियो। घरदैलोका क्रममा ओलीले युवाहरूसँग देशको भविष्य र विकासका बारेमा संक्षिप्त छलफल गरे। विशेष गरी दमक नगरपालिकाका विभिन्न वडाहरूमा पुग्दा स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्वासी समस्या समाधानका लागि ओलीसँग आग्रह गरेका थिए।
जवाफमा ओलीले आफू प्रधानमन्त्री हुँदा सुरु गरेका अधुरा आयोजनाहरूलाई पूर्णता दिन र झापा-५ लाई नमूना क्षेत्र बनाउन आफ्नो उम्मेदवारी रहेको बताए। ओलीको यो घरदैलो कार्यक्रमले झापा -५ मा चुनावी सरगर्मीलाई ह्वात्तै बढाएको छ।



















