नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
उनले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। सभापति थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन्।
सभापति थापाले द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन्।
साथै उनले कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै विदेशमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न सरकारसँग माग गरका छन्।
सभापति थापाले जनसम्पर्क समिति, गैरआवासीय नेपाली सङ्घ तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपाली नागरिकको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोधसमेत गरेका छन्।




















