प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भोजपुरमा ‘माटो’ चुनाव चिह्नबाट उम्मेदवार ध्रुवराज राई विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार राईले १६,६६३ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार एवम् कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरेका छन्।
यस्तै, नेपाली कांग्रेसका बालकृष्ण थापाले ८,६७० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले ६,१०२ मत प्राप्त गरेका छन्। ‘तारा’ चुनाव चिह्नका उम्मेदवार अजम्बर राई काङमाङले ५,६२८ मत प्राप्त गरेका छन्।
पुस २ गते नेकपा एमाले छाडेर हर्कराज राईको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका ध्रुवराज भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। उनी पहिलो प्रयासमै संघीय संसद्को यात्रा तय गर्न सफल भएका छन्।




















