नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई सहि नीति, सहि संगठन, नेतृत्व, व्यवहार र कार्यशैलीमार्फत फेरि उठ्ने बताएका छन्। कार्यकर्तालाई सम्बोधन गर्दै उनले पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने उद्घोष गरेका हुन्।
‘कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौं। सहि नीति, सहि संगठन, सहि नेतृत्व, सहि व्यवहार र सहि कार्यशैली मार्फत हामी उठने छौं र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरी उठाउने छौं।’ उनले भने,‘संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सहि मार्गमा अघि बढ़न र आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा हिड़न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु।’
उनले पार्टी कार्यकर्ता र शुभेच्छुकलाई सुझाव पठाउन आग्रह गरे। उपमहासचिव भट्टराईले राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम- लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार भएको टिप्पणी गरे।
‘राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा वाम- लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो। यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक विचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु’उनले भने।
उनले निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेको दाबी गरे। नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्ने उनको भनाई छ। भट्टराईले नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्ने धारणा राखे।
पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिंगो पार्टीको असफलता भएको उनको टिप्पणी छ।




















