नेपाली कांग्रेसका नेता डा।सुनिल कुमार शर्माले निर्वाचनमा भएको पराजयलाई लिएर आफ्नो र आफू आबद्ध अस्पतालको सेवाका बारेमा फैलाइएका हल्लाहरू निराधार रहेको स्पष्ट पारेका छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि डा।शर्माले सञ्चालन गर्दै आएका अस्पतालहरूले स्वास्थ्य सेवा र छुट सुविधाहरू रोक्ने भन्दै सामाजिक सञ्जाल र बजारमा चलेका चर्चाप्रति उनले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

डा। शर्माले निर्वाचनको परिणाम र आफू आबद्ध नोबेल मेडिकल कलेज ९विराटनगर० तथा काठमाडौं मेडिकल कलेज ९काठमाडौँ० ले प्रदान गर्ने सेवाबीच कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका छन् । उनले आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राख्दै विगतदेखि दिँदै आएको उपचार छुट र निःशुल्क स्वास्थ्य सेवा आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

‘चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो,’डा। शर्माले भने, ‘समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौँ ।’

उनले बजारमा फैलाइएका भ्रमपूर्ण हल्लाहरूको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन् । स्वास्थ्य सेवा आवश्यक पर्ने नागरिकहरूले सम्बन्धित वडामा रहेका अस्पतालका प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियम र विधि अनुसार उपचार सेवा लिन सक्ने समेत उनले जानकारी दिएका छन् ।

डा। शर्माले राजनीतिक यात्रा र सामाजिक सेवा फरक पाटो भएको बताउँदै जनताको सेवा गर्ने आफ्नो सङ्कल्पमा कुनै परिवर्तन नआउने स्पष्ट पारेका हुन् ।