विराटनगर। नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी डा.सुनिलकुमार शर्माले निर्वाचनको हार–जितलाई लोकतान्त्रिक प्रक्रियाको रूपमा स्विकार्दै अबको समय सङ्गठन सुदृढीकरण र जनसेवामा खर्चिने बताएका छन्। मोरङ क्षेत्र नं. ३ द्वारा विराटचोकमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिणामलाई सहर्ष स्वीकार गरेर पुनः जनताको बीचमा जानुपर्ने आवश्यकता औँल्याएका हुन्।
कार्यक्रममा बोल्दै डा. शर्माले भने, ‘मानव जीवनमा सुख–दुःख जस्तै चुनावमा हार–जित पनि स्वाभाविक प्रक्रिया हो। हामीले यसलाई स्वीकार गर्दै जनताबीच गएर आफ्ना कमजोरी सुधार्नुपर्छ।’उनले विगतमा राजनीतिक दलहरूले जनतामाथि गरेको व्यवहार र त्यसबाट उत्पन्न असन्तुष्टि नै चुनावी परिणामको एक मुख्य कारण हुन सक्ने टिप्पणी गरे।
लोकतान्त्रिक प्रणालीप्रति आफ्नो पूर्ण विश्वास रहेको बताउँदै उनले निर्वाचनका दौरान उठेका मतपत्र जाँच लगायतका प्रश्नहरूभन्दा पनि जनताको मतलाई सम्मान गर्दै अगाडि बढ्नु नै उचित हुने धारणा राखे।
डा. शर्माले नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन कार्यकर्ताहरूलाई गाउँ–गाउँमा पुग्न आग्रह गरे। ‘अब कांग्रेस घरघरमा पुग्नुपर्छ, जनताको दुःख–सुखमा सहभागी हुनुपर्छ। चिया खानु, जनतासँग बस्नु र उनीहरूको भावना बुझ्नु नै अहिलेको सबैभन्दा ठुलो कार्यभार हो,’उनले भने।
पार्टीभित्र व्यापक सुधार र एकताको आवश्यकता औँल्याउँदै उनले गगन थापा नेतृत्वको नयाँ पुस्ताले पार्टीलाई ऊर्जाशील बनाउँदै जनतासँग जोड्ने विश्वास व्यक्त गरे। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन सुदृढ बनाउने र कार्यकर्तालाई सक्रिय बनाउने योजना उनले सुनाए।
स्वास्थ्य सेवाका क्षेत्रमा सक्रिय डा. शर्माले नोबेल अस्पतालमा लागू गरिएको बिरामी सिफारिस प्रणालीमा परिवर्तन गरिने घोषणा गरे। हालको प्रणालीमा केही कमजोरी देखिएकाले त्यसलाई थप प्रभावकारी र पारदर्शी बनाइने उनले बताए।
‘सिफारिसकर्ताहरू पनि परिवर्तन हुन्छन्। कतिपय ठाउँमा वास्तविक पीडामा रहेका मानिसले सेवा नपाएको गुनासो आएको छ,’उनले भने, ‘अब यो प्रणालीलाई अझ परिष्कृत गरेर वास्तविक असहाय र विपन्नसम्म पहुँच पुर्याउनेछौँ।’
डा. शर्माले नेपाल एक कानुनी राज्य भएको स्मरण गराउँदै निजी संस्थामाथि अनावश्यक आरोप लगाउने प्रवृत्तिको आलोचना गरे। ‘यो कानुनी राज्य हो। निजी संस्थालाई घेर्ने वा अनावश्यक आरोप लगाउनेहरूको मानसिक अवस्था ठिक छैन जस्तो लाग्छ,’ उनले भने।
उनले चुनावमा अहोरात्र खटिएका कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ सङ्गठित भएर अघि बढ्न हौसला प्रदान गरेका छन्।




















