दुबईमा हवाई आक्रमणलाई सफलतापूर्वक विफल पारिएपछि खसेको भग्नावशेषका कारण मध्य दुबईको एउटा भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको छ।
यस आक्रमणमा कोही पनि घाइते भएका छैनन्। उक्त आक्रमण केबाट भएको थियो भन्नेबारे कार्यालयले खुलाएको छैन।
कतारमा साढे तीन लाखभन्दा बढी नेपाली नागरिक कार्यरत छन्।
यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) की राज्यमन्त्री लाना नुसेबेहले खाडी देशहरूमाथि इरानले गरेको आक्रमणको निन्दा गरेकी छन्।
उनले यी आक्रमणहरूलाई अत्यन्त गम्भीर र गैरकानुनी भएको बताएकी छन्। ‘आक्रमणको स्तर मात्र होइन, इरानले यस द्वन्द्वमा सम्पूर्ण क्षेत्रलाई नै तानेको कुरा झनै चकित पार्ने खालको छ,’ उनले भनिन्।
उनले यी सबै समस्या समाधानको बाटो कुटनीतिक नै हुनुपर्नेमा जोड दिइन्।
राज्यमन्त्री नुसेबेहले यूएईलाई आत्मरक्षाको अधिकार रहेको कुरा प्रस्ट पार्दै भनिन्, ‘तर इरानमाथि आक्रमण गर्न अमेरिकालाई यूएईको हवाई क्षेत्र वा जमिन प्रयोग गर्न भने दिइने छैन।’
राज्यमन्त्री नुसेबेहले देशको अर्थतन्त्र बलियो रहेको दाबी गर्दै भनिन्, ‘हाम्रो अर्थतन्त्रले तेल पूर्वाधार र पर्यटन उद्योगमाथि भएका आक्रमणको धक्कालाई सहन सक्छ।’
इरानले गरेका हमलाहरूबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थल र केही होटलहरूमा क्षति पुगेको छ।
ड्रोन र क्षेप्यास्त्र आक्रमणका तस्बिरहरू खिच्न प्रतिबन्ध लगाउने कडा कानुनअन्तर्गत केही व्यक्तिहरू पक्राउ परेका खबरहरूबारे आफूलाई जानकारी रहेको पनि उनले बताइन्।
यूएईमा हालको यथार्थ अवस्था बाहिर आउन नदिन यो कदम चालिएको भन्ने आरोपहरू लागिरहेका छन्। तर, राज्यमन्त्री नुसेबेहले भने ती खबरहरू गलत भएको दाबी गरेकी छन्।



















