विराटनगर । राजनीतिमा नैतिकता र धरातलीय यथार्थको खाडल कति गहिरो हुन्छ भन्ने कुरा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले छर्लङ्ग पारेको छ। निर्वाचनको राप र ताप सेलाउन नपाउँदै पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले सामाजिक सञ्जालमा देखाएको 'उदारता' अहिले राजनीतिक वृत्तमा चर्चा र व्यङ्ग्यको विषय बनेको छ।
श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले सानदार जित दर्ता गरेपछि किरातीले फेसबुकमा 'हाम्रो निःसर्त समर्थनले उनीहरूले जितेको' आशयसहितको लामो स्ट्याटस लेखे। तर, निर्वाचन आयोगको आधिकारिक तथ्याङ्कले भने किरातीको यो दाबीलाई हात्तीको मुखमा जिरा मात्र होइन, राजनीतिक मज्जाकको रूपमा प्रमाणित गरिदिएको छ।
तथ्याङ्क हेर्ने हो भने, खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी भए। रोचक त के छ भने, उनलाई समर्थन गरेको दाबी गर्ने सुदन किरातीको पार्टीले सोही जिल्लामा समानुपातिकतर्फ जम्मा ८८४० मत८८ प्राप्त गरेको छ। १६ हजारको पहाड अगाडि ४० मतको समर्थनलाई 'निर्णायक' ठान्नु आफैँमा एउटा ठुलो व्यङ्ग्य हो।
यस्तै दृश्य सुनसरी क्षेत्र नं.१ मा पनि देखियो। जहाँ हर्क साम्पाङले ३५ हजार ७११ मतका साथ सानदार जित निकाल्दा उनलाई काँध थापेको दाबी गर्ने प्रलोपाले जम्मा ७४ मतमा चित्त बुझाउनुपरेको छ। ३५ हजारको जनलहरमा ७४ मतको योगदानलाई ऐतिहासिक समर्थन भन्नु राजनीतिक रूपमा निर्लज्जताको पराकाष्ठा भएको विश्लेषण गर्न थालिएको छ ।
सबैभन्दा उदेकलाग्दो नतिजा त सुदन किरातीको आफ्नै गृहजिल्ला भोजपुरमा देखिएको छ। कुनै समय सोही क्षेत्रबाट चुनाव जितेर मन्त्रीको कुर्सीमा समेत पुगेका किरातीको पार्टीले आफ्नै गढ मानिने भोजपुरमा जम्मा ४५० मत मात्रै बटुल्न सक्यो।
जब कि, त्यहाँ श्रम संस्कृति पार्टीका ध्रुव राई १६ हजार ६६३ मतका साथ विजयी भए। आफ्नै आँगनमा ५०० मत पनि कटाउन नसक्ने र शून्य प्रायः अवस्थामा पुगेको पार्टीले १६ हजार मत ल्याउने शक्तिको विजयमा हिस्सेदारी खोज्नुले किरातीको राजनीतिक धरातल कतिसम्म भत्किएको छ भन्ने पुष्टि गर्छ।
यस निर्वाचनले कोशी प्रदेशमा श्रम संस्कृति पार्टीलाई एक बलियो शक्तिको रूपमा स्थापित गरिदिएको छ। प्रलोपा जस्ता अस्तित्व रक्षाका लागि सङ्घर्ष गरिरहेका साना दलको समर्थनको वैशाखी श्रम संस्कृति पार्टीलाई अब आवश्यक नदेखिएको तथ्याङ्कले बोल्छ।
कोशी प्रदेशको समानुपातिक ट्रेन्डले त झन् ठुला दलहरूको निद्रा नै हराइदिएको छ। ८ लाख ५३ हजार १८३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बन्दा, श्रम संस्कृति पार्टी २ लाख ९२ हजार ०४९ मतसहित दोस्रो स्थानमा उक्लिएको छ। यसले वर्षौँदेखि जरा गाडेर बसेका नेपाली कांग्रेस २ लाख ९० हजार ५६२ र नेकपा एमाले २ लाख ८८ हजार १८६ लाई समेत तेस्रो र चौथो स्थानमा धकेलिदिएको छ।
निर्वाचनको परिणामले प्रष्ट पारेको छ– जनताले काम र श्रमको राजनीति गर्नेलाई पत्याएका छन्, तर समर्थन को नाममा सस्तो लोकप्रियता कमाउन खोज्ने र धरातल बिर्सिएका नेताहरूलाई पूर्णतः तिरस्कार गरेका छन्। ४० र ७४ मत ल्याएर १६ हजारको जितमा हिस्सा खोज्ने सुदन किरातीको फेसबुक राजनीति र वास्तविक जनमत बीचको दूरी अब खुल्लमखुल्ला भएको छ।




















