समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ।

बैठक भर्चुल बस्ने जानकारी पाएपछि केन्द्रीय कार्यालय बनस्थली पुगेका केही नेताहरु त्यहाँबाट फर्किएका छन्।

हाल स्वास्थ्य लाभ गरिरहेका पार्टी सभापति रवि लामिछानेसँग डिपी अर्याल र डा. स्वर्णिम वाग्ले छन्। नेताहरु शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल, गणेश कार्की लगायतका नेताहरु कार्यालयमा छन्। अरु केही नेताहरु भने कार्यालयबाट फर्किएका थिए।

प्रवक्ता झाले पार्टी कार्यालय परिसरमा पत्रकारहरुसँग कुरा गर्दै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने जानकारी दिए।

फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ।

समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण लगायत निर्वाचनका बाँकी प्रक्रिया पूरा भइसकेपछि नयाँ सरकार गठन हुने र त्यसका लागि १० दिन जति लाग्नसक्ने प्रवक्ता झाले अनुमान गरे।