शनिबार बेलुका करिब ८ बजे सहिद लखन गाउँपालिका ९३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको इभी माइक्रोबस सडकबाट करिब २ सय मिटर तल खस्दा सात जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस १४ जना तीर्थयात्रु मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर सडकबाट दुई सय मिटर तल झरेको थियो।
१४ जना सवार मध्ये पाँच पुरुष र दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना गम्भीर घाइतेलाई चितवनको भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। जसमा भारतका ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीय मिनाक्षी, ५३ वर्षीय सिबगामी, ५७ वर्षीय बिजायल, ५८ बर्षिय मिना र ६० वर्षीय तमिलारशी सबै एकै ठाउँका भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरत बहादुर बिकले बताए।
दुर्घटनामा परी गम्भीर घाईते हुनेमा माइक्रोबस चालक लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका –१ का ४६ वर्षीय पुष्प मल्ल ठकुरी, सहचालक लमजुङ बेँसीसहर नगरपालिका –३ का २९ वर्षीय सन्तोष गुरुङ रहेका छन्।
त्यस्तै, अन्य घाईतेमा भारतका ६२ वर्षीय सोरनस, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीय शुभद्रा, ६५ वर्षीय मयाल, ७३ वर्षीय सरोजा, ६५ वर्षीय भाग्यलक्ष्मी र ३४ वर्षीय मिनाक्षीको चितवनको पुरानो मेडिकल कलेज उपचार भइरहेको छ।




















