विराटनगर। नेकपा (एमाले) नेता गुरु बराल अन्ततः तीन दशक लामो ‘चुनावी हार’ को शृङ्खला तोड्दै सङ्घीय संसद्मा प्रवेश गर्ने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुन्डुमा शनिवार बसेको सचिवालय बैठकले बराललाई समानुपातिकतर्फको सांसद चयन गर्ने निर्णय गरेको हो।
एमालेले समानुपातिकतर्फ प्राप्त गरेको १६ सिटको अन्तिम सूची तयार पार्ने क्रममा बराललाई समेटेको हो। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगमा बुझाउने अन्तिम नामावली टुङ्ग्याएको हो। मोरङबाट प्रतिनिधित्व गर्ने बराल प्रत्यक्ष चुनावमा बारम्बार पराजित भए पनि यस पटक पार्टीको ‘सुरक्षित बाटो’ बाट सांसद बन्न सफल भएका छन्।
२०३० सालदेखि राजनीतिमा सक्रिय बरालका लागि संसदीय चुनाव सधैँ फलामको चिउरा जस्तै बन्दै आएको थियो। उनको चुनावी रेकर्ड हेर्दा २०५१ सालको मध्यावधि निर्वाचनमा जितेपछि उनले कहिल्यै सुखद नतिजा आत्मसात् गर्न पाएका थिएनन्।
त्यसयता भएका २०५६ को आमनिर्वाचन, २०६४ र २०७० को संविधानसभा निर्वाचनमा उनी पराजित भए। २०७८ मा राष्ट्रियसभा सदस्य बन्ने उनको प्रयासमा पनि भाग्यले साथ दिएन: झापाका गोपाल बस्नेतसँग मत बराबर भएपछि गोला तान्दा उनी पराजित हुन पुगेका थिए।
बरालको राजनीतिक यात्रामा पछिल्लो समय एउटा रोचक विरोधाभास देखिएको छ। भर्खरै सम्पन्न नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा संस्थापन पक्षकै उम्मेदवार हुँदा हुँदै पनि उनी उपाध्यक्ष पदमा पराजित भएका थिए। सुवास नेम्वाङको निधनपछि ओलीले उनलाई उपाध्यक्षमा मनोनीत गरेका थिए, तर महाधिवेशनमा कार्यकर्ताले उनलाई जम्मा १,१३७ मत दिएर अस्वीकार गरे।
जनताबाट प्रत्यक्ष भोट माग्दा र आफ्नै पार्टीका प्रतिनिधिबाट भोट माग्दा दुवै ठाउँमा असफल भएका बराललाई पार्टी नेतृत्वले भने पुनः न्याय गरेको छ। अध्यक्ष ओलीका ‘कोर टिम’ सदस्य मानिने बराललाई मोरङमा पार्टीको विरासत जोगाउन र ओलीलाई गुट निर्माणमा सुरुदेखि नै साथ दिएको ‘पुरस्कार’ स्वरूप सांसद बनाइएको चर्चा एमाले वृत्तमा सुरु भएको छ।
यो निर्वाचनमा मोरङका प्रत्यक्षतर्फका क्षेत्रमा एमालेले क्लिन स्विच (हार) बेहोरेको अवस्थामा बरालको प्रवेशले जिल्लाको प्रतिनिधित्वलाई सन्तुलनमा ल्याउने प्रयास गरेको देखिन्छ। मदन भण्डारी स्मृति प्रतिष्ठानमार्फत ओलीको विश्वास जितेका बराल अब ‘मनोनयन’ र ‘समानुपातिक’ को बलमा संसद् छिर्ने एमालेका एक भाग्यमानी नेता बनेका छन्।