वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चलचित्र ‘तेलभिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुलीको सुनकोसी गाउँपालिका-७ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका- ४ माकलबारी बस्ने ४४ वर्षीय कार्कीलाई चैत ९ गते स्वयम्भूबाट पक्राउ गरेको हो।

पासाङ नोर्बु तामाङ समेतका व्यक्तिहरूले कार्कीलगायतविरुद्ध अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा जाहेरी दिएका थिए। कार्कीद्वारा निर्मित चलचित्र ‘तेल भिसा’ अमेरिकामा बस्दै आएका नेपाली समुदायको कथामा आधारित छ।

कार्कीविरुद्ध विभिन्न मितिमा वैदेशिक रोजगार विभागमा मुद्दाहरु दर्ता भएकोमा ६ वटा पक्राउ पुर्जी काठमाडौँ उपत्यका अपराध अनुसन्धान  कार्यालयमा प्राप्त भएको प्रहरीले जनाएको छ।

विगत १० वर्षदेखि काठमाडौँको चावहिलमा पी एन्ड एम इन्नोभेटिभ सर्भिस नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका उनले वैदेशिक रोजगारमा पठाईदिन्छु भनि अन्दाजी २५० जना मानिसहरूलाई ठगी गरेको प्रहरीको दाबी छ।

जसमा १०० जना भन्दा बढि पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन्। कार्कीविरुद्ध गत असार २४ गते प्रहरी बृत्त लैनचौरबाट बैंकिङ कसुरमा समेत मुद्दा दर्ता भएको पाइएको छ।

उनले विगत ३ महिनादेखि भारतको नँया दिल्ली स्थित पहाडगंजमा अन्नपूर्ण फास्टफुड खोली बसेको साथै भारत सरकारद्वारा जारी भएको आधार कार्ड र प्यान कार्ड समेत लिएको अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।