विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका ५१ नेपालीको उद्धार गरिएको छ।
अनलाइन ठगीका साथै विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना राहदानी बसिरहेका उनीहरूलाई आज थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ। कम्बोडियामा नेपालीलाई नागरिक अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना राहदानी वा राहदानी–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।
कम्बोडियामा अवैध रूपमा बसिरहेकाका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणको लागि नेपाली राजदूतावास बैंकक वा गैर–आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।




















