नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेजी नभई अद्यावधिक गर्न लागेको जानकारी दिएका छन्।
क्रियाशील सदस्यता खारेजीको प्रश्न उठेपछि उनले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका हुन्। उनले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्न लागेको जनाएका हुन्।
‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दै छु–हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ।
अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँ गाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरूको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ।
विगतमा देखिएका त्रुटि हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदै छौं। विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ।
त्यसैले, भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरूलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरूलाई क्रियाशील सदस्यता लिन हार्दिक अनुरोध गर्दछु, पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्।
केही दिन अघि जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सभापति गगन थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको बताएका थिए।
आगामी वैशाख १ गतेदेखि कांग्रेसले देशभर ‘जरा अभियान’ सुरु गर्ने जानकारी दिँदै सभापति थापाले पार्टीको सङ्गठनलाई वडा तहदेखि नै पुनर्गठित गरिने उल्लेख गरे। सदस्यता खारेजीको विषय आलोचित बनिरहेको छ।




















