सवारी चालक अनुमतिपत्र(लाइसेन्स) २४ घण्टाभित्रै छापिने भएको छ। ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले बताए। 

सञ्चार मन्त्री तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गर्ने क्रममा लाइसेन्स छपाइलाई तीव्र बनाउन निर्देशन दिएका थिए। मन्त्री तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए। 

हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ। विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र वैशाख १२ गतेभित्र १२ लाख छापिसक्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको उनको भनाइ छ। 

अर्बौं रकम खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि थन्किएकोमा तिनलाई सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिएको पनि उनले जानकारी दिए। केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको भन्दै अब त्यसको प्रभावकारी उपयोग गरिने बताए। उनले केन्द्रलाई नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन निर्देशन दिए।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउन योजना तयार भइरहेको जानकारी दिनुभयो। भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजात छाप्ने सक्ने गरि क्षमता विकास गरिएको उनले बताए।