नेकपा (एमाले) मोरङले बेलबारी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीलाई पदमुक्त गर्न पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी भएको भन्दै एमालेले सुवेदीलाई निर्वाचित पदबाट हटाउन केन्द्रलाई पत्राचार गरेको हो। 

९ गते विराटनगरमा बसेको जिल्ला पदाधिकारीको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए।

सुवेदी यसअघि एमाले मोरङको जिल्ला सदस्य समेत थिए। दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित सुवेदी पहिलो कार्यकालमा नगरपालिकाको प्रवक्ता समेत थिए। 

तर, गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि उनी एमालेको राजनीतिमा निष्क्रिय थिए। उनले जिल्ला कमिटी सदस्यबाट समेत राजीनामा दिइसकेका थिए। 

‘जेनजी’ आन्दोलनपछि पार्टी नेतृत्वसँग थप असन्तुष्ट बनेका उनी अन्ततः रास्वपाको औपचारिक कार्यक्रममै सहभागी भएपछि एमालेले कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको हो।