स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षको विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १७६ रुपैयाँ भुक्तानी गरेको छ।
बोर्डले आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरक-फारक भएको जानकारी दिएको हो।
२०८२ मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ।
बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बिमित सेवाग्राहीहरूको उपचार सेवामा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी निर्धारित मापदण्ड बमोजिम गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइदिन आग्रह गरेको छ।
स्वास्थ्य बिमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सम्पूर्ण बिमित सेवाग्राहीहरूलाई बिमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन समेत बोर्डले अपिल गरेको छ।




















