मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारमा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर बुधबार बिहान एक युवतीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ की २० वर्षीया सञ्जु सहनीको मृत्यु भएको हो। 

बुधबार बिहान कटहरी–४ नयाँबजारस्थित माइतीघरमा कल चलाउने क्रममा कलमा जडान गरिएको पानी तान्ने मोटरको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सञ्जु विराटनगर–५ कोचाखालको अनिल सहनीकी श्रीमती हुन्। उनी माइतीघरमा रहेका बेला दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।