राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश कार्कीले राहदानी विभाग अगाडि आत्मदाह गर्ने गणेश नेपालीको मृत्युको घटनालाई केवल ‘शोकको औपचारिकता’ मा मात्र सीमित नगर्न संसद्को ध्यानाकर्षण गराएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले सदनमा धेरै सदस्यहरूले नाम समेत स्पष्ट नभई श्रद्धाञ्जली दिइरहेको भन्दै यसलाई ओठे भक्ति मात्र नबनाउन आग्रह गरे।
सांसद कार्कीले गणेश नेपालीको घटनालाई थप दुखान्त र भावनात्मक बनाउने होडबाजी चलिरहेको बताउँदै भने, ‘१० हजार जरिवानाका कारण आत्मदाह गरेको भन्ने कुरा भ्रम हो कि सत्य, त्यसको खोजी हुनुपर्छ। हामीले भावनात्मक तर्क गरेर मात्र हुँदैन, मान्छेको जीवनभन्दा ठुलो तर्क अर्को केही हुन सक्दैन।’
नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने र झन्डै ८० जनाले आत्महत्याको प्रयास गर्ने तथ्याङ्क प्रस्तुत गर्दै कार्कीले यसमा कानुन र राज्यको भूमिका खोज्नुपर्ने बताए। ‘दैनिक १८ जनाले ज्यान फाल्छन्, यसको कारण सामाजिक, मनोवैज्ञानिक वा आर्थिक के हो ? राज्यले यसबारे कहिले गम्भीर छलफल गर्ने ?’ कार्कीले प्रश्न गरे।
सांसद कार्कीले कानुन बनाउने थलो संसद् नै भएको स्मरण गराउँदै गणेश नेपाली जस्ता युवाहरूलाई मृत्युको मुखमा पुग्न कस्तो कानुन बनाइयो भनी प्रश्न गरे।
कार्कीले राज्यको एक अङ्गको रूपमा आफ्ना कमजोरीहरू पनि स्वीकार गरे। ‘म मनैदेखि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मेरा भागमा पर्ने गल्तीहरू स्वीकार गर्दछु,’ उनले भने। कार्कीले व्यक्तिगत आरोप–प्रत्यारोप भन्दा पनि प्रणाली सुधार गरेर नागरिकको जीवन रक्षा गर्न सरकार र सदन दुवैलाई गम्भीर बन्न आग्रह गरे।




















