मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाका अनुसार बिहान करिब ४ः०० बजे पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल व्यवसाय सञ्चालन गर्दै बसिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्प निवासी ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो।

घटनामा जगनाथ र सृजनालाई सामान्य चोट लागेको छ । उनीहरू आफैं उपचारका लागि पुलु स्वास्थ्य चौकी पुगेका छन् र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

photo-2_05a470a5

पहिरोमा च्यापिएका तीन वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको कमाण्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोली र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याएका थिए। प्रारम्भिक अवस्थामा उनको अवस्था मध्यम रहेको बताइएको थियो।

तर बिहान करिब ५ः४५ बजे उपचारकै क्रममा चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेका छन्।

पहिरोले उनीहरू बस्दै आएको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। साथै घटनास्थल आसपासका अन्य ८ वटा घर पनि उच्च जोखिममा परेका छन्। जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

photo-3_74a0ce35