सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबिच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न निषेध गरिएको छ।
प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपियाँसम्म जरिवाना वा एक महिनासम्म कैद, वा दुवै सजाय हुन सक्ने जनाएको छ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र तथा देवानगञ्ज बजार क्षेत्र रहेका छन्। आदेशमा ती क्षेत्रका पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमासमेत तोकिएको छ।
जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जनाएको छ।
आइतबार राति दुई समूहबिच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको बताइएको थियो। प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर छ।
तर सुनसरीमा भएको घटनामा सशस्त्र प्रहरीको गोली लागेर नै एक जनाको मृत्यु भएको भन्ने पुष्टि भइसकेको छैन। घटनाबारे अनुसन्धान जारी रहेकाले त्यसको निष्कर्षपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।
घटनाका क्रममा दुवै सुरक्षा निकायबाट गोली चलेको र २४ जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएको सशस्त्र नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेन्द्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार सशस्त्र प्रहरीकै गोली लागेर मृत्यु भएको भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।




















