प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धार कार्यमा सघाउ पुर्‍याउने उद्देश्यले ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सरकारलाई २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीका प्रतिनिधि डेभिड यिङले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

यसरी प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने र सोही कोषमार्फत विपद् प्रभावितको राहत तथा उद्धारमा खर्च गरिने छ।

चेक ग्रहण गर्दै मन्त्री यादवले विपद्को यस कठिन परिस्थितिमा उच्च मानवीय भावना प्रदर्शन गर्दै सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद दिइन्।

विपद्को समयमा निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट प्राप्त हुने यस्ता सहयोगले सरकारको राहत र उद्धार अभियान थप सशक्त र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने मन्त्री यादवको भनाइ छ।