रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हजार २५२ जनाको मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन्।
प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १२ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन्।
फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ रहेका छन्।
बाढी तथा विपद्का घटनामा हालसम्म उपचार गरिएका घाइतेहरुको संख्या ५ हजार १३५ जना छन्।
प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ।
नेपाली सेनाले हालसम्म ७१५ पटक हवाइ उडान गरेको छ। त्यसमध्ये बिहीबार मात्रै २५ उडान गरिसकेको छ।












