भोटेकोसीमा आएको बाढीका क्रममा उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका दुवै कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हाल उनीहरूको छाउनीस्थित वीरेन्द्र अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठले अस्पताल पुगेर उपचाररत कर्मचारीहरूसँग प्रत्यक्ष भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
अस्पताल स्रोतका अनुसार दुवै कर्मचारीको स्वास्थ्यमा सुधार आएको छ। उनीहरू सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेका छन्।
प्राधिकरणले उनीहरूको पूर्ण उपचार र हेरचाहका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।












