विराटनगरमा सम्पन्न श्री राधाकृष्ण रथयात्राका क्रममा उच्छृङ्खल गतिविधि तथा भिडभाडमा सरसामान चोरी गरेको आरोपमा ११० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिवार सम्पन्न रथयात्राका क्रममा ठुलो सङ्ख्यामा हुने श्रद्धालु भक्तजनको भीडमा विभिन्न गतिविधि गर्नेहरूलाई जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले रथयात्राका क्रममा नियन्त्रणमा लिएका १ सय १० जनामध्ये महिला तथा बालबालिकासमेत रहेको जानकारी दिए। उनले बालबालिकासहित ४५ जनालाई भने उनीहरूको अभिभावक बोलाएर पुनः कार्यालयमा उपस्थित हुने गरी तारेखमा बुझाइएको बताए।