नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति गगन थापाबिच आइतबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधान र पछिल्लो राजनीतिक अवस्थाका बारेमा भएको उक्त भेटमा नेता कोइरालाले पार्टी एकताका लागि आफू कुनै पनि पद त्याग्न तयार रहेको बताएका हुन्।
भेटका क्रममा डा. कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता सङ्कटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै कांग्रेस एक ढिक्का हुनुको विकल्प नरहेको बताए। ‘मलाई कुनै पद चाहिँदैन, तर पार्टी मिल्नुपर्यो,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। डा. कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन आफ्नो तर्फबाट जस्तोसुकै त्याग गर्न पनि आफू पछि नहट्ने बताए।
जवाफमा सभापति थापाले आफू पनि पार्टीलाई मिलाएर लैजाने विषयमा अत्यन्तै संवेदनशील रहेको बताए। थापाले सहमतिको वातावरण बनाउनका लागि यही भदौ २४ गतेदेखि तय भएको वडा अधिवेशनको कार्यतालिकालाई आज बस्ने कार्यसम्पादन समितिको बैठकबाट पछि सार्ने पनि बताएका थिए। ‘पार्टीभित्रको आन्तरिक समस्या मिलाउन म संवेदनशील छु, अधिवेशनको तालिका सारेर भए पनि मिलाउने प्रयास गरौँ,’ थापाले भेटमा बताए।
भेटघाटका क्रममा उनीहरूबिच गत भदौ १० गते नेपाल-चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसले रसुवा, नुवाकोट तथा धादिङमा पुर्याएको क्षति र पछिल्लो अवस्थाका बारेमा समेत छलफल भएको थियो। नेता डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भेटवार्ता सकारात्मक भएको बताए। उनले के के कुरा भयो भन्ने चाहिँ बताएनन्।












