राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन वार्ता भएको छ। अमेरिकी विदेशमन्त्री रुबियोले सभापति लामिछानेसँग टेलिफोन सम्पर्क गरेका हुन्।

वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशीमा आएको भीषण बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। साथै, उनले यस विपद्को घडीमा नेपाली जनता र नेपाल सरकारप्रति ऐक्यबद्धता समेत जनाएका छन्।

जवाफमा सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा जारी खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले सम्पूर्ण उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराए। उनले नेपाली नागरिकका साथ साथै नेपालमा रहेका विदेशी नागरिकहरूको सुरक्षाका लागि पनि सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको विदेशमन्त्री रुबियोलाई आश्वस्त पारे।

सभापति लामिछानेले यस कठिन परिस्थितिमा अमेरिकी सरकारले देखाएको सद्भाव र सहयोगप्रति हार्दिक आभार व्यक्त गरे। सो क्रममा विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यकता अनुसार थप सहयोग उपलब्ध गराउन अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।