काठमाडौँ मेडिकल कलेज (केएमसी) मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पुर्‍याउने प्रमुख अवरुद्ध नसा बिना चिरफार सफलतापूर्वक खोलिएको छ।
धादिङकी २२ वर्षीया बिपना मगरको रक्त नलीमार्फत गरिने अत्याधुनिक उपचार विधिबाट अवरुद्ध नसा खोलिएको हो।
टाकायासु आर्टेराइटिस भनिने रोगका कारण उनको मस्तिष्कमा रगत पुर्‍याउने प्रमुख धमनीका शाखा लामो समयदेखि पूर्ण रूपमा बन्द थिए। त्यसमाथि मस्तिष्कको दायाँ मध्य धमनी अचानक बन्द हुँदा उनलाई मस्तिष्कघात भएको थियो।
एकै बिरामीमा लामो समयदेखि बन्द धमनी खोल्नु र अचानक बन्द भएको धमनीबाट रगतको डल्लो निकाल्नुपर्ने भएकाले उपचार निकै चुनौतीपूर्ण थियो।
न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा उपचार गरिएको हो। डा. पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानबाट स्नायुरक्तनली उपचारमा उच्च विशेषज्ञता हासिल गरेका छन्। उनी हाल केएमसीमा उक्त सेवाको नेतृत्व गरिरहेका छन्। उपचार टोलीमा डा. प्रवीण खत्री पनि संलग्न थिए।
टाउको नखोली रक्तनली हुँदै गरिएको उपचारमा लामो समयदेखि बन्द रहेको धमनीलाई विशेष बेलुनको सहायताले फराकिलो पारियो। त्यसपछि रक्तनली खुला राख्न विशेष जाली राखेर रक्तसञ्चार पुनःस्थापित गरियो। लगत्तै मस्तिष्कको दायाँ मध्य धमनीमा अड्किएको रगतको डल्लो यान्त्रिक विधिबाट निकालियो। यसपछि मस्तिष्कमा पुनः रक्तप्रवाह गराइएको थियो।
उपचारकै क्रममा बिरामीमा उल्लेखनीय सुधार देखिएको डा. पौडेलले बताए। उनले उपचार कक्षमै चिकित्सकलाई धन्यवादसमेत दिएकी थिइन्।
‘लामो समयदेखि पूर्ण रूपमा बन्द भएको धमनी खोल्नुका साथै त्यही समयमा भएको मस्तिष्क घातको तत्काल उपचार गर्नुपर्ने अवस्था थियो,’ पौडेलले भने, ‘यो केस मेरो ६ वर्षको उपचार यात्राकै स्मरणीय र चुनौतीपूर्ण घटनामध्ये यो एक हो।’
बिरामीको उपचार तथा थप व्यवस्थापनमा स्नायुरक्तनली उपचार, स्नायु रोग, बाथरोग, बेहोस पार्ने तथा सघन उपचार र मुटुरोग विशेषज्ञबीच समन्वय गरिएको थियो।
टाकायासु आर्टेराइटिस शरीरमा रगत बगाउने ठुला नलीमा समस्या गराउने दुर्लभ रोग हो। यसले रक्तनली साँघुरो वा बन्द गराउन सक्छ। त्यसले मस्तिष्कलगायत विभिन्न अङ्गमा पर्याप्त रगत पुग्न समस्या हुन्छ। चिकित्सकका अनुसार आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र विभिन्न विशेषज्ञको समन्वय भए नेपालमै यस्ता जटिल मस्तिष्क तथा रक्त नलीसम्बन्धी उपचार सम्भव छ। 
केएमसीका सञ्चालक तथा पूर्वसांसद् डा.सुनिलकुमार शर्मा स्वास्थ्य उपचारलाई आम नागरिकको पहुँचमा पुर्‍याउने अभियानमा सक्रिय रहँदै आएको बताउँछन्। उनको पहलमा केएमसीले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
विपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउनेदेखि जटिल रोगका बिरामीको उपचारमा सहयोग गर्नेसम्मका काममा केएमसी सक्रिय रहँदै आएको छ।
पछिल्लो पटक भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित सम्पूर्ण नागरिकको केएमसी अस्पतालमा निःशुल्क उपचार गरिदिने घोषणा पनि शर्माले गरेका छन्।