प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन्।

शुक्रबार सिंहदरबारमा उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्दै लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए।

सो क्रममा प्रधानमन्त्री शाहले उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्याका बारेमा जानकारी लिएका छलफलमा सहभागी रास्वपा सांसद विदुषी राणाले जानकारी दिइन्।

नेपालमा स्वदेशका व्यवसायीहरूले र त्यसपछि गैरआवासीय नेपाली लगानी गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले बाह्य विदेशी लगानी तेस्रो प्राथमिकतामा रहने बताउनुभएको सांसद राणाले बताइन्। व्यवसायीहरूले नेपाली व्यवसायीहरू ठुला पूर्वाधार निर्माणमा सक्षम रहेको र त्यसका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको धारणा राखेका थिए।

अर्थतन्त्रमा निजी क्षेत्रको ८० प्रतिशत योगदान रहेकाले मनोबल उच्च राख्न राज्यले अनुकूल वातावरण बनाउनुपर्नेमा व्यवसायीहरूको जोड रहेको सांसद राणाले बताइन्। त्यस्तै, व्यवसायीहरूले आरोप लाग्ने बित्तिकै व्यवसायीलाई पक्राउ गर्ने र थुन्ने परिपाटीले मनोबल घटाएको गुनासो गरेका थिए।

निजी क्षेत्रका समस्या, कानुन संशोधन र लगानीको वातावरणबारे समीक्षा गर्न प्रधानमन्त्री कार्यालयबाट प्रत्येक तीन–तीन महिनामा निजी क्षेत्रसँग नियमित छलफल गर्ने समझदारी बनेको सांसद राणाको भनाइ छ। छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी भएका थिए।