वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं उपत्यका करिब ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा कामहरू भएको बताएका छन्।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कलाकार आचार्यले यस्तो बताएका हुन्। उनले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे।
‘करिब ५० वर्षअघिदेखि नै महानगर बिग्रिन सुरु भएको हो। तर अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भने, ‘पछिल्लो समय भने महानगर सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा कामहरू भएका छन्। ठाउँ–ठाउँमा फल्चा निर्माण भएका छन्। हेर्दा फल्चा बस्ने र ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यसको भित्र हाम्रो सम्पदा र संस्कृति लुकेको हुन्छ।’
काठमाडौंलाई ‘देवताहरूको सहर’का रूपमा चित्रण गर्दै आचार्यले यहाँका बासिन्दाले पनि देवताकै रूपमा आफ्नो सम्पदा र महानगरको संरक्षण गर्नुपर्नेमा जोड दिए।
केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाइ र सौन्दर्यबारे तयार पारेको भिडियो सामग्री हेर्दा आफूलाई निकै गर्व लागेको अनुभव उनले सुनाए।
‘भारतीय युट्युबरहरूले काठमाडौंबारे बनाएको एउटा कार्यक्रम हेरेँ। उनीहरूले काठमाडौं अहिले कति सफा र सुन्दर भएको छ र यसबाट हामीले पनि सिक्नुपर्छ भनेर प्रशंसा गरेका रहेछन्,’ आचार्यले भने, ‘त्यो देख्दा नेपाली भएको नाताले हाम्रो गर्वले छाती फुलेको छ।’
महानगरपालिकामा पछिल्लो समय भएका सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाइ र सुन्दरतामा थप ध्यान दिनुपर्ने उनको सुझाव छ। महानगरको विकास र संरक्षणमा नेतृत्वको मात्र नभई महानगरवासीको समेत महत्त्वपूर्ण भूमिका रहने भन्दै सबैले आफ्नो सहरप्रति जिम्मेवार बन्नुपर्ने उनले बताए।












