अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।
बुधबार बसेको समितिको बैठकमा सभापति कृष्णहरि बुढाथोकीले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्ताव राखेका थिए।
बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल भएको छ।
छलफलको क्रममा सभापति बुढाथोकीले विधेयकका विभिन्न विषयमा समितिमा लामो छलफल, तर्क र संवाद भएको बताएका छन्। आफूहरूलाई आवश्यक लागेको विषय संशोधन गर्न संशोधन प्रस्तावसमेत दर्ता गरिएको उनले जानकारी दिए।
‘हामीले हामीलाई लागेका विषयवस्तु यो संशोधन हुनुपर्छ भन्ने मान्यताका आधारमा हामीले संशोधन प्रस्ताव पनि दर्ता गयौँ,’ उनले भने, ‘त्यसपश्चात् यहाँ छलफलमा पनि हामी धेरै हामीले तर्क, संवाद, वाद गयौँ। त्यो पनि हाम्रो समितिको रेकर्डमा छ।’
बुढाथोकीका अनुसार विधेयकमाथि समितिले गरेका निर्णयहरू सर्वसम्मत रहेका छन्। ती निर्णयका आधारमा नै प्रतिवेदन तयार भएको र सदनमा पेश गर्नुअघि प्रतिवेदनमा समितिले गरेका निर्णयभन्दा बाहिरका विषय समावेश भए–नभएको जाँच गर्न बैठक केन्द्रित रहेको उनले बताए।
उनले भने, ‘समितिको छलफलमा पहिलो विधेयक हो। यस विधेयकलाई सर्वसम्मत ढङ्गले जानुपर्छ भन्ने सबै सदस्यहरूको एकदम सहृदय भावनाले पनि यसलाई धेरै काम गरेको छ।’
उनले समितिका बैठकमा भएका छलफल र निर्णयहरू अभिलेखमा रहेको भन्दै समितिका सदस्यहरूले थप सुझाव वा आफ्ना धारणा लिखित रूपमा समिति सचिवालयमा दर्ता गराउन सक्ने बताए।
नेपाल राष्ट्र बैंक ऐन संशोधन भइरहेका बेला मुलुकले आर्थिक रूपमा फड्को मार्नुपर्नेमा जोड दिए। उनले विशेषगरी राष्ट्र बैंकको नेतृत्व चयन र नेतृत्वले प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने विषयमा संरचनागत सुधारको आवश्यकता भएको बताए।
समितिका सदस्यहरूले विधेयकलाई परिवर्तनको अवसरका रूपमा ग्रहण गरेको बताउँदै उनले प्रतिवेदनलाई अनावश्यक ढिलाइ नगरी सदनमा अघि बढाउनुपर्ने बताए।












