रास्वपा सभापति रवि लामिछानेले आफूले बोलाएको सर्वदलीय वैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थतिलाई बचाउ गरेका छन्। प्रधानमन्त्री र आफूले राजनीतिक कामहरु बाँडफाँड गरेको उनले बताए।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री अहिले निरन्तर वैठकमै रहेको टिप्पणी गरे। बाढी प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिसँग प्रधानमन्त्रीले निरन्तर संवाद गरिररहेको भन्दै उनले यसलाई संवेदनशीलताको उदाहरणका रुपमा व्याख्या गरे।
आफूहरुले राजनीतिक कामहरु बाँडेकाले प्रधानमन्त्री सर्वदलीय बैठकमा उपस्थित हुनु नपर्ने रविको तर्क छ।
'प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। हिजै भर्खर जस्तो लाग्छ मलाई, उहाँ स्थानीय तहका साथीहरू, राजनीतिज्ञ सबैसँग समय निकालेर भेटिरहनुभएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँका जनप्रतिनिधिसँग भेटिरहनुभएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो नि।
राजनीतिक काम हामी बाँडफाँड गरेर गर्छौँ। हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू प्रधानमन्त्री हुने किसिमको परिस्थिति हुँदाखेरि, दुइटै जिम्मेवारी एउटैको हुँदा नगर्ने हो। अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले, प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन।'
आइदिए हुन्थ्यो, बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो। तर गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ, त्यहाँ त छ। नभेट्नु थियो त कसैलाई भेट्नुहुन्न थियो। स्थानीय तहको वडाध्यक्षसम्म फोनमा कुराकानी हुने, त्यहाँका पालिकाका प्रमुखहरूसँग बसेर घण्टौँ गहन छलफल हुने भनेको यो हाम्रो कामको बाँडफाँट हो।
यो कार्यकालभरि तपाईँहरूको यो प्रश्न रहिरहन्छ। तर, यो प्रश्नलाई आजै तपाईँहरूले डम्प गर्दिए हुन्छ, किनभने हामीले काम बाँड्या छौँ।












