नेपाली कांग्रेसका सभापति गगन थापाले शनिबार शुरू हुने वडा अधिवेशन उद्घाटन गरिदिन पूर्व सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।

देउवा पक्षबाट समायोजनमा आएका नेताहरूलाई बिहीबार सानेपामा स्वागत गर्दै सभापति थापाले देउवालाई अधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका हुन्।

‘श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, अधिवेशन उद्घाटन गरिदिने कुरा हाम्रो लागि सम्मानको विषय हुन्छ’, उनले भने, ‘पूर्व सिनियर नेतालाई पनि अधिवेशनमा सहभागी भइदिनु हुन आग्रह गर्छु।’

सभापति थापाले तोकिएको तिथि–मितिमा महाधिवेशन गर्नुपर्ने बाध्यता रहेको बताए।

‘हामी विधान, संविधान र अदालतको आदेशले बाँधिएका छौं। असोज १६ को अधिवेशन रोक्नु नपर्ने भनेको कानूनी भाषामा गर्नु भनेको पनि हो,’ उनले भने, ‘अधिवेशनमा सहभागी हुन सबैलाई आग्रह गर्छु।’

उनले सबैलाई समेट्नका लागि आफूले आवश्यक लचकता अपनाउने बताए।

‘मेरो तर्फबाट गर्ने कुराहरू गर्न तयार छु। अरू केमा लचकता अपनाउनुपर्ने हो, के मिलाउनुपर्ने हो, तयार छु’, थापाले भने, ‘कोही पनि साथी अलमलमा नरहनुहोला।’

उनले अझै २र३ दिनको समय बाँकी रहेको भन्दै अलमलमा नरहन अपिल गरे।