कोशी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने भएको छ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विराटनगरस्थित शहीद रंगशालामा हुने मूल समारोहको तयारी पूरा भएको छ।
संविधान दिवसका अवसरमा शनिबार बिहान साढे ६ बजे विराटनगरको आदर्श माध्यमिक विद्यालयअगाडि भेला भएर प्रभातफेरी गरिनेछ। प्रभातफेरीपछि शहीद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा मूल समारोह हुनेछ।
मूल समारोहमा विभिन्न १६ जातजाति तथा भाषाभाषीका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। यस्तै, खेलकौशल, राष्ट्रिय गीत प्रस्तुति र पुरस्कार वितरणलगायतका कार्यक्रम राखिएको प्रदेश सरकारले जनाएको छ।
संविधान दिवसकै अवसरमा शुक्रबार बिहान प्रदेश खेलकुद बोर्डको आयोजनामा ‘कोशी दौडन्छ’ रोड रेस तथा म्याराथन दौड सम्पन्न भएको छ। रोड रेसको उद्घाटन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए।
यसैगरी, सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा प्रदेश सरकारको भूमिका’ विषयमा खुला निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका दुर्गाप्रसाद नेपाल प्रथम, काठमाडौंकी रविना महर्जन द्वितीय र धादिङका सम्राट श्रेष्ठ तृतीय भएका छन्। ओखलढुंगाकी निहारिका धमला, संखुवासभाकी सावित्रा पन्त सुवेदी र इटहरीकी अनुशा रावतले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
संविधान दिवसका अवसरमा अन्तरसंवाद तथा भिडियो प्रतियोगितासमेत आयोजना गरिने प्रदेश सरकारले जनाएको छ। यस्तै, असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाइमा रक्तदान तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा वृक्षरोपण कार्यक्रम गरिनेछ।
संविधान दिवसका कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरिरहेको छ।












