नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँतिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। शुक्रबार (असोज २) काठमाडौंमा अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकमार्फत उनले यस्तो चेतावनी दिएका हुन्।

उनले ‘तथाकथित’ नयाँ भनिएको सरकारले सुकुम्वासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी र ट्रेड युनियनमाथि दमन गरेको आरोप पनि लगाए। सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्ष दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको उनले उल्लेख गरे।

“हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ,” उनले भने।

उनले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गर्दै सरकारका गतिविधिविरुद्ध आन्दोलनमा उत्रने तयारी भइरहेको बताए। सरकारका गतिविधि र कार्यशैलीका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको उनको भनाइ थियो।

“बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ। चाडपर्वपछिको देशको परिस्थिति हेरेर हामीले फेरि प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ पहलकदमी, एउटा नयाँ प्रतिवाद, एउटा नयाँ आन्दोलन सृष्टि गर्नु छ,” उनले भने।

उनले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरूको एजेडाप्रति आकर्षण बढ्दै गएको जिकिर गरे।

“हामीलाई विश्वास छ, अहिले केही महिनाभित्रै यो नयाँ भनिएका सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिरिँदै छ,” उनले भने, “जुन भ्रम थियो, त्यो च्यातिँदै छ । र, एउटा नयाँ ढंगले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू र उनीहरूको एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ।”

सरकारले नागिरकका पक्षमा काम गर्न नसकेको संयोजक प्रचण्डको आरोप छ। “हामी मधेस, वाग्मती वा देशका जुनसुकै क्षेत्रमा जाँदा मैले के महसुस गरेको छु भने, जनतामा फेरि नेपाली कम्युनिस्ट पार्टीप्रतिको आकर्षण बढ्दो छ,” उनले भने, “हामी सबै आआफ्नो ठाउँबाट जनतामा गयौँ र जनतालाई बुझाउन सक्यौँ भने जनता छिट्टै हाम्रो आन्दोलनमा आउन सक्ने अवस्था छ।”