नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताएका छन्।
रिपोटर्स क्लवले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले एमाले यथास्थितिमा रहन नसक्ने भन्दै नीति, संगठनात्मक ढाँचा, कार्यशैली, बोली–वचनको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण मार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने बताए।
उनले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनको प्रस्ताव तयार गर्न गठित कार्यदलमा पार्टी अध्यक्षले हस्तक्षेप गरेको आरोप लगाए।
उनले कार्यदलको समझदारीअनुसार महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार गरी सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराए पनि अध्यक्षको असहमतिपछि छलफल अघि बढ्न नसकेको र त्यसको काउन्टरमा उपाध्यक्ष राम बहादुर थापालाई अर्को प्रतिवेदन लेख्न लगाइएको दाबी गरे।
देशभरका सदस्यहरू, प्रदेश कमिटी, जनसंगठन र वरिष्ठ नेताहरूबाट संकलित सुझावहरूमा साझा रूपमा ‘पार्टी पुनर्गठित हुनुपर्छ’ भन्ने आवाज उठेको उनको भनाइ छ।
साथै उनले वर्तमान सरकार गठन भएको करिब ६ महिना पुग्न लागेको सन्दर्भमा सरकारको समग्र गति र मति सही ट्रयाकमा नरहेको टिप्पणी गरे। सरकारले सहजकर्ताको भूमिका खेल्नुको सट्टा त्रास, भय र आतंक सिर्जना गरेर शासन गर्न खोजेको उनले आरोप लगाए।












