नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गरेका छन्।
सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने, अपलोड गर्ने तथा कमेन्ट गर्ने गराउने प्रवृत्ति स्वस्थ नभएको बताए।
उनले भने, ‘म आग्रह गर्छु, विरोधीले खेल्ने यस्ता ठाउँहरू दिनुहुँदैन। स्टाटस लेख्ने, अपलोड गर्ने अनि कमेन्ट गर्ने वा गराउने स्वस्थ तरिका होइन। खुलस्त छलफल पार्टीभित्र नै हुनुपर्छ। अहिले अनुशासनमा कमजोर हाम्रै पार्टी देखिनु भनेको सारै दुःख लाग्दो कुरा हो।’
अध्यक्ष ओलीले सरकारको असक्षमता र राज्यका साधन स्रोतको दुरुपयोग जनताले देखेको दाबी गरे। उनले सरकारले अफवाह फैलाएको आरोपसमेत लगाए।
‘सरकारको असक्षमता, अकर्मण्यता र राज्यका साधन स्रोतहरूको दुरुपयोग आम जनताले देखेको छ। र अफवाह कसरी राज्यस्तरबाट फैलाइयो त्यो कुरा पनि देखिएको छ,’ उनले भने।
उनले बेलिब्रिज निर्माणबारे समेत उदाहरण दिँदै सामान नआउँदै बेलिब्रिज बनेको भनेर प्रचार गरिएको दाबी गरे। उनले बागमती प्रदेश सरकारले विपद्का बेला गरेको सहयोगको भने प्रशंसा गरे।
‘बागमती सरकारलाई धन्यवाद भन्न चाहन्छु, बरु तत्काल तुइन हालेर औषधीदेखि सबैथोक ल्याएर जनताको साथमा छौँ भनेर साथ दिए,’ उनले भने।












