पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रतिनिधिसभामा पेश गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, संकलन, विसर्जन तथा समग्र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी स्पष्ट गर्न विधेयक ल्याइएको बताए।

एनले विधेयकले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय कायम गरी फोहोरमैलाको समुचित तथा प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्य राखेको बताए। फोहोरमैला व्यवस्थापनमार्फत स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्ने र मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने विषयलाई पनि विधेयकमा प्राथमिकता दिइएको उनले बताए। 

उनले चक्रीय अर्थतन्त्रको अवधारणाअनुरूप फोहोरमैलालाई प्रशोधन गरी पुनः स्रोत सामग्रीका रूपमा उपयोग गर्ने व्यवस्था गर्न विधेयक आवश्यक रहेको बताए। 

विधेयकले फोहोरमैला व्यवस्थापनमा सरकारका विभिन्न तहको जिम्मेवारी स्पष्ट पार्दै प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्य राखेको उनले बताए।