राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले सरुवा तथा बढुवाका लागि आफूलाई आफन्त र साथीभाइबाट समेत दबाब आउने गरेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आचार्यले राजनीतिमा प्रवेश गरेपछि आफूले सबैभन्दा धेरै दबाब सरुवा र बढुवाकै विषयमा सामना गर्नुपरेको बताए। सुशासन र पारदर्शिताको पक्षमा बोल्ने आफन्त तथा साथीहरू नै व्यक्तिगत काम लिएर आउने गरेको उनको भनाइ थियो।

आचार्यले सरुवा–बढुवाका विषयमा आउने सबैलाई आफूले विधि र प्रक्रियाअनुसार मात्रै काम हुने र व्यक्तिगत भनसुन स्वीकार नगर्ने स्पष्ट पार्दै आएको बताए। रास्वपाको प्रतिबद्धताअनुसार स्वायत्त सरुवा बोर्ड गठन गरी पूर्वानुमानयोग्य र पद्धतिमा आधारित सरुवा–बढुवा प्रणाली लागू गर्नुपर्ने उनले बताए।

सरुवा–बढुवामा भनसुन गर्न नमिल्ने अवस्थाका कारण आगामी दशैँमा आफन्तबाटै गुनासो र असन्तुष्टि खेप्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले सरकारसँग व्यंग्यात्मक शैलीमा सरुवा बोर्ड गठनको माग गरे।

‘दशैँमा आफ्नै इष्टमित्रले टीका र आशीर्वाद नदेलान् भन्ने पिर छ, काम गरिदिएन भनेर सराप पो दिने हुन् कि भन्ने डर छ,’ उनले भने, ‘यो सरापबाट मलाई बचाइदिनु पर्‍यो सरकार।’