राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खननलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन्।
शनिबार साँझ खानीको ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्दै उनले दुई वर्षअघि नै ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ सम्पन्न भए पनि परीक्षणको काम रोकिँदा करोडौँ मूल्यका उपकरणमा खिया लाग्न थालेकोप्रति चिन्ता व्यक्त गरे।
लामिछानेले लामो समयदेखि रोकिएको ‘वेल टेस्ट’ र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालय तथा विज्ञसँग परामर्श गर्ने बताए। प्राविधिक काम कहाँ र किन रोकिएको हो भन्नेबारे थप अध्ययन आवश्यक रहेको उनको भनाइ थियो।
प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएको उल्लेख गर्दै उनले यसले नेपालको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने बताए। खानीको उत्खननलाई पूर्णता दिन विस्तृत अध्ययन गरी ठोस पहल गर्ने उनको प्रतिबद्धता थियो।












